बोर्डले धितोपत्र कारोबारमा कायम अधिकतम शून्य दशमलव ४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर शून्य दशमलव ३६ प्रतिशत र शून्य दशमलव २७ प्रतिशतको तल्लो सीमालाई घटाएर शून्य दशमलव २४ प्रतिशत कायम गर्ने प्रस्ताव गरेको थियो । यसअघि बोर्डले २०७७ पुस १० गते ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा शून्य दशमलव ४० प्रतिशत र तल्लो सीमा शून्य दशमलव २७ प्रतिशत कायम गरेको थियो ।
हाल ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले शून्य दशमलव ४० प्रतिशत, ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, ५ लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै २० लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशतसम्म कमिसन लाग्ने व्यवस्था छ ।
बोर्डले प्रस्ताव गरेअनुसार ब्रोकर कमिसन कार्यान्वयनमा आए आगामी दिनमा ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले शून्य दशमलव ३६ प्रतिशत, ५० हजार रूपैयाँदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३३ प्रतिशत, ५ लाख रूपैयाँदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत तिर्नुपर्नेछ । आगामी दिनमा २० लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव २७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा शून्य दशमलव २४ प्रतिशतसम्म कमिसन लाग्नेछ । सँगसँगै ब्रोकरहरूबाट बोर्डले लिने शुल्क पनि घट्ने भएको छ । हाल लगानीकर्ताले गर्ने कारोबार रकमको शून्य दशमलव शून्य १५ प्रतिशत शुल्क बोर्डले प्राप्त गर्दै आएको छ । उक्त शुल्कलाई शून्य दशमलव शून्य १४ प्रतिशत मात्र कायम गर्न बोर्डले प्रस्ताव गरेको थियो ।

