नेपाल वेयरहाउजिङ कम्पनीको घाटा झनै बढेको छ। कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय आज सार्वजनिक भएको छ। समीक्षा अवधिमा कम्पनीको घाटा बढेर ९ करोड २१ लाख रुपैयाँ पुगेको छ। गत असारसम्म कम्पनीले २ करोड ९९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
यो ६ महिनामा कम्पनीको सञ्चालन आम्दानी १४४.९३ प्रतिशतले बढेर ६६ लाख १० हजार रुपैयाँ भएको छ। गत असारसम्म कम्पनीको सञ्चालन आम्दानी २६ लाख ९८ हजार रुपैयाँ थियो। अन्य आम्दानी भने घटेर ७ हजार रुपैयाँमा सीमित बनेको छ। गत असारसम्म अन्य आम्दानी ५ लाख ४७ हजार रुपैयाँ थियो।
चुक्तापुँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी १५ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत असारसम्म अन्य इक्विटी ६ करोड ६ लाख रुपैयाँले ऋणात्मक थियो। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १३.४ रुपैयाँले ऋणात्मक रहेको कम्पनीको पीई रेसियो ५९.०५ प्रतिशत र प्रतिशेयर नेटवर्थ ९७.२३ रुपैयाँ रहेको छ।