एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् । एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक तथा अध्यक्ष सन्तोषकुमार राठीले राजीनामा दिएसँगै रिक्त पदमा पौडेललाई नियुक्त गरिएको हो ।
अध्यक्ष पौडेलले व्यवस्थापन विषयमा स्नातकोत्तर तथा हाल एसएमई फाइनान्सिङमा विद्यावारिधि गरिरहेका छन् । उनीसँग इमर्जिङ नेपाल लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृत साथै व्यवसाय परामर्श, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशक बढीको कार्यानुभव रहेको छ । पौडेलले साविकको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र मर्जरपश्चात् हालको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा ५ वर्षदेखि सञ्चालक समितिमा रहेर काम गर्दै आएका थिए ।

