मल्टीपर्पस फाइनान्स लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ७१ प्रतिशत घटेको छ ।
कम्पनीले अघिल्लो आवमा रू. १ करोड ४१ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. ४० लाख ८७ हजारमा झरेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घट्न पुगेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ७८ प्रतिशत घटेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।
अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ५४ रहेकोमा गत आवमा रू. शून्य दशमलव ९० मा झरेको हो । कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा २० प्रतिशत बढेकाे छ । कम्पनीले अघिल्लो आवमा रू. २ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवमा वृद्धि भएर रू. ३ करोड ३१ लाख पुगेको हो ।
कम्पनीको चुक्तापूँजी रू. ४५ करोड २० लाख रहेको छ भने जगेडामा रू. ३ करोड ६८ लाख सञ्चित गरेको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ९८, मूल्य आम्दानी अनुपात २६५ दशमलव ३८ गुणा र तरलता अनुपात ४२ दशमलव ९२ प्रतिशत छ ।