एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र ईपीएस दुबै उल्लेख्य बढेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.८६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको वितरणयोग्य मुनाफा पनि १७ प्रतिशत वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको असरमा एक अर्ब ९२ करोड रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा हाल २ अर्ब २४ करोड रुपैयाँ छ। बैंकको वितरणयोग्य मुनाफा ३२ करोड ४७ लाख रुपैयाँले बढेको हो।
जसको आधारमा गत आर्थिक वर्षका लागि १९.४३ प्रतिशत लाभांश दिने क्षमता बैंकसँग छ। मुख्यतया कर्जा जोखिम व्यवस्थापन बापतको रकम घटेपछि बैंकको खुद नाफा ३९ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा जोखिम व्यवस्थापन बापतको रकम २९ प्रतिशत घटेको हो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ९५ पैसा बढेर ३९ रुपैयाँ १३ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ५२ पैसा रहेको छ।
आम्दानीसँगै खर्चका आकार पनि बढेका छन्। कर्मचारी र सञ्चालन खर्च दुबै बढेका छन्। कर्मचारीहरूको खर्च ३५.८४ प्रतिशत बढ्दा सञ्चालन खर्चको आकार २९.११ प्रतिशत बढेको हो। यसका बाबजुद बैंकको सञ्चलन मुनाफा पनि साढे ३३ प्रतिशतको वृद्धि देखिएको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ४५.५१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १ प्रतिशत र कर्जा १.४८ प्रतिशत बढेको छ।