नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजबाट सुरु भएको छ।
दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकीकृत कारोबार गर्ने निर्णय गरेको थिए, सोहि अनुसार बैंकहरुले एकीकृत कारोबार थालेका हुन्।
जेठ ७ गते सम्पन्न दुबै बैंकको विशेष साधारण सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेको थियो भने एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्राप्त गरेको थियो।
नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो। नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बनेका छन्।
२०७८ चैत्र मसान्तको वित्तीय विवरण अनुसार नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुग्नेछ भने कर्जा विस्तार ३ खर्ब ९ अर्ब र निक्षेप रकम ३ खर्ब २० अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ४५ अर्ब रुपैयाँ पुग्नेछ।
एनबीलाई प्राप्तिपश्चात् नबिल बैंकको शाखा सञ्जाल २५४ पुग्नेछ । त्यस्तै नौ महिनाको संयुक्त खुद नाफा ४ अर्ब ४६ करोड रुपैयाँ हुनेछ। प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो सेवा र शाखा सञ्जालमार्फत नयाँ रणनीतिअनुसार बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने विश्वास बैंकले लिएको छ ।।