
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको हो । जापानी सञ्चारमाध्यहरुले गोली लागेका पूर्वप्रधानमन्त्री आबेको शरीरबाट रगत बगेको र उनी ढलेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनास्थलमा बन्दुकको आवाज सुनिएको थियो । प्रहरीले गोली हान्ने तेत्सुया यामागामीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
उनलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पुर्याइएको थियो । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्याउँदासम्म बोलिरहेका उनी अहिले अचेत छन् । उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।
६७ वर्षका आबे सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।