न्यायाधीशले घुस डिल गरेको अडियो सार्वजनिक, न्यायपरिषद्को बैठक बोलाइयो

जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न दुई करोडको डिल भएको अडिओ सार्वजनिक भएको छ।

न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका छन् । न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् ।

अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् । यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकिएको छैन ।

अधिवक्ता पोखरेल नेकपा एमालेनिकट हुन्। केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनले ओलीका पक्षमा सर्वोच्चमा बहस गरेका थिए। उनी एमालेको कानुन विभागका सदस्य हुन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको