खाना पकाउने ग्यासमा छिट्टै दुई थरी मूल्य लागु हुने

खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गरिने भएको छ । औद्योगिक प्रयोजन र घरायसी प्रयाेजनका लागि दुई थरी मूल्य लागू गरिने भएको हो ।औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा बिक्री गर्ने तयारी रहेको नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए ।

‘हामी एकदमै चाँडो ग्याँसको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिने’ उनले भने । दाेहाेराे मूल्यबारे अध्ययन गर्न गुणस्तर तथा नापताैलका महानिर्देशक नेतृत्वको टाेलीले काम गरिरहेकाे पनि उनले जानकारी दिए ।

औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्याँस सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्याँसको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाउने थानीले बताए । ‘हिजो रातो र नीलो सिलिण्डरको मात्रै कुरा गरियो अब रङको मात्रै होइन, साइजको कुरा ५ देखि ४ सय केजीसम्म ग्यासका सिलिण्डर आउने गर्छ’ उनले भने ‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं’ उनले भने । हाललाई ग्यासमा मूल्य बढाउने तयारी नरहेको पनि उनले बताए ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेपनि निगमले बढाएको छैन । हाल निगमलाई ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ नाेक्सानी रहेको निगमले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको