सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आज असार २ गतेबाट आईपीओ निष्कासन गरेको छ।
कम्पनीले आयोजना प्रभावित बागलुङ जिल्लाका ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा बसोबास गर्ने बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले स्थानीयलाई १०० अंकित दरका ३ लाख कित्ता आईपीओ बिक्री गर्नेछ।
यो आईपीओमा स्थानीय न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। स्थानीय प्रभु बैंकको ताराखोला शाखा र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयलाई आवेदन संकलन केन्द्र तोकिएको छ।
यो आईपीओको निष्कासन बन्द छिटो असार १६ गते र ढिलोमा असार ३१ गते बैंकिङ समयपछि हुनेछ।
सयपत्री हाइड्रोपावरको आईपीओलाई नेपाल धितोपत्र बोर्ड गत जेठ १८ गते निष्कासन अनुमति दिएको थियो।