यही जेठ १३ गतेदेखि नेपालमा प्रर्दशनमा आउन लागेको फिल्म ‘कबड्डी ४’ लाई भारतमा पनि प्रर्दशन गर्न लागिएको छ ।
फिल्मलाई भारतका १५ शहरमा असार २ गतेदेखि प्रर्दशन गरिने भएको हो । मंगलबार सिलुगुडीमा आयोजित पत्रकार सम्मेलनमा भारतमा पनि फिल्म प्रदर्शनको औपचारिक घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ सिलीगुडी पुगेका थिए ।
नेपालीहरू धेरै बसोबास गर्ने भारतका दार्जिलिङ, सिलिगुडी, गुवाहाटी, जस्ता १५ शहररूमा कबड्डी ४ लाई प्रर्दशनमा गर्न लागिएको हो । भकरतका यती धेरै शहरहरूमा एकैसाथ नेपाली फिल्म प्रर्दशन गर्न लागिएको यो पहिलो पटक हो । फिल्मलाई सुष्मा प्रोडक्सनले भारतमा प्रदर्शन गर्न लागेको हो ।
असार १ गते हुने फिल्मको भारत प्रिमियरमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगरसहित २० जनाको समूह त्यहाँ जाने भएका छन् ।निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४’ लाई नेपाल, अष्ट्रेलिया, जापान जस्ता देशमा भने जेठ १३ गते शुक्रबारको दिन देखिनै प्रर्दशन गरिने छ ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गाउँमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, स्व. जयनन्द लामा र विजय बरालको मुख्य भूमिका रहेको छ । फिल्मको कथालाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् भने विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले निर्माण गरेका हुन् ।
नेपालमा फिल्म ‘कबड्डी ४’ का लागि हलहरुमा अग्रिम टिकट बुकिङ भैरहेका छन् । ‘कबड्डी ३’ लाई भारतमा ४८ लाख रुपैयाँमा बिक्री गरिएको थियो भने ‘कबड्डी ४’ लाई त्यो भन्दा बढी मूल्यमा बिक्री गरिएको छ ।