सिवाइसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणकाे लागि बिक्रीमा ल्याएकाे आईपीओ बाँडफाँट गरेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलमा शेयर बाँडफाँट भएको हो।
कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।
लघुवित्तको आईपीओ २२ लाख ५ हजार ६३३ जनाकाे आवेदन परेको थियो । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ ।
लघुवित्तले बिक्रीमा ल्याएको आइपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदनहरुलाई गोलाप्रथा माध्यमबाट शेयर बाँडफाँट भएको छ ।न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३६ हजार ९४८ जनाले शेयर पाएका छन् । बाँकी रहेको ८ कित्ता शेयर त्यसमध्येबाट १० कित्ता भन्दा बढी आवेदन गर्नेलाई गोलाप्रथाबाट वितरण गरिएको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ। आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गरिने क्यापिटलले जनाएको छ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, सीडीएससीको मेरो सेयर र iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ।