नेपाल र भारतबीच विद्युत, इन्धन र रेल सेवा सञ्जाल विस्तार गर्ने सहमति

नेपाल र भारतबीच विद्युत, रेल र इन्धन सेवा सञ्जाल विस्तार गर्ने सहमति भएको छ। शनिबार नेपाल र भारतबीच पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज शनिबार हैदरावाद हाउसमा भएको विस्तृत वार्ता विशेष गरी ऊर्जा र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित विषयलाई अधिक प्राथमिकतामा राखिएको थियो। विद्युत् प्रसारण लाइन होस् वा विद्युतीय कारोबारको ‘रुपे’ त्यसले नेपालको वित्तीय क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको थियो।

परस्परमा वित्तीय सम्पर्क बढाउन तथा द्विपक्षीय पर्यटक प्रवाहलाई सहज बनाउनका साथै भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने रुपे प्रभावकारी हुने अपेक्षा भारतले गरेको छ। प्रधानमन्त्री देउवाले भारतमा पर्याप्त मात्रामा बिजुली निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई दिइएको नयाँ स्वीकृतिको प्रशंसा गर्दै नेपालको जलविद्युत् विकास आयोजनामा भारतीय कम्पनीलाई थप सहभागिताका लागि आह्वान गरेका थिए। नेपालमा ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा भएको प्रगतिको पनि विज्ञप्तिमा उल्लेख गरिएको थियो।

त्यसैगरी, साउथ ब्लकले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ‘फ्रेमवर्क’ सम्झौता रेलवे क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी, नेपाल आयल निगम (एनओसी) र भारतीय आयल निगम (आइओसी) बीच पेट्रोलियम पदार्थ उत्पादनको आपूर्तिसम्बन्धी समझदारी, एनओसी र आइओसीबीच प्राविधिक विशेषज्ञता साझा गर्न सम्झौताको आदानप्रदान तथा द्विपक्षीय ऊर्जा क्षेत्र सहयोगसम्बन्धी संयुक्त घोषणालाई उपलब्धिमूलक बताएको छ।

बाह्यमामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा पारस्परिक लाभका खातिर सहयोगका अभूतपूर्व अवसरहरूबारे छलफल गर्नाका साथै ऊर्जा उत्पादन, प्रसारण र व्यापारमा साझा प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिएर त्यसको कार्यान्वयनमा तीव्रगतिमा काम गर्न दुवै पक्ष सहमत भएका जनाइएको छ।

दुवै प्रधानमन्त्रीले आर्थिक र व्यापार विषयमा विचार आदानप्रदान गरेको तथा व्यापार, लगानी र सम्पर्क सञ्जाल विस्तारलाई अझ घनीभूत बनाउने र आवागम सहज तुल्याउने, नेपाललाई दीर्घकालीनरूपमा भारतबाट मलको आपूर्ति सहज बनाउने र पेट्रोलियम पदार्थको आपूर्तिका लागि पञ्चवर्षीय सम्झौताको नवीकरण भएकामा त्यसको स्वागत गरेका छन्।

दुवै देशका प्रधानमन्त्रीले सघन एवं सुदृढ द्विपक्षीय विकास साझेदारीको बारेमा छलफल गर्दै जयनगर–कुर्था–बिजलपुर–बर्दिबास, जोगबनी–विराटनगर, रक्सोल–काठमाडौँ जोड्ने अन्तरदेशीय रेल परियोजनालगायत नेपालमा भारतीय परियोजनाहरूको कार्यान्वयनको प्रगतिको समीक्षा गरेका थियो।

काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रतिष्ठान, नेपालगन्ज र भैरहवामा एकीकृत जाँच चौकीलगायत भारतीय सहयोगका सबै आयोजनालाई समयमै सम्पन्न गर्न नेपाल सरकारबाट प्राप्त सहयोग र सहजीकरणका लागि प्रधानमन्त्री देउवाप्रति प्रधानमन्त्री मोदीले आभार व्यक्त गरेका थिए। भारत स्वतन्त्र भएको ७५ वर्ष पुगेको सन्दर्भमा उसले ‘आजादीका अमृत महोत्सव’ मनाइरहेका बेला रामायण परिपथका साथै नेपालमा ७५ वटा विकास आयोजनाको उद्घाटन गर्ने जानकारी प्रधानमन्त्री देउवालाई गराएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको