
धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ।
बजार आज ४१.४३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५७२.२३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.५५ अंकले घटेर ४७९.३९ को विन्दुमा ओर्लेको छ। कारोबार भने झन्डै ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार मुक्ति अर्याल आजको बजार घटाइले लगानीकर्ताको मनोबल अझै उठ्न नसकेको प्रस्ट देखिएको बताउँछन्। ‘बीमा सेक्टरमा पुँजीवृद्धिको खबर आउनु सकारात्मक नै थियो तर बजारमा नकारात्मक प्रभाव देखियो’, उनले भने, ‘यसले लगानीकर्ताको मनोबल कमजोर बनेको प्रस्ट हुन्छ।’
तरलता संकट टर्न नसकेका कारण पनि लगानीकर्तामा अन्यौलता देखिएको हुन सक्ने अर्यालको भनाइ छ। ‘आज कारोबार बढेको छ, लगानीकर्ताहरुले सेक्टर परिवर्तन गरेको पनि देखिएको छ’, उनले भने, ‘तर, बजार नकारात्मक बन्नुको मुख्य कारण तरलता संकट नै देखिन्छ। चैतको प्रभाव पनि परेको हुन सक्छ।’
अहिले रेमिट्यान्स पनि घटेकोले बजारमा पैसाको अभाव देखिएको अर्यालले बताए। ‘पैसा नहुँदा घरजग्गाको कारोबार पनि प्रभावित बनेको छ’, उनले भने।
तरलता सहज बनेसँगै बजार फेरि लयमा फर्किन सक्ने अर्याल बताउँछन्।
सक्रिय लगानीकर्ता महेश रिजाल पनि तरलता संकटकै कारण बजार नकारात्मक प्रभाव परिरहेको बताउँछन्। ‘बजारमा पैसा नहुँदा ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेका छन्’, उनले भने, ‘ठूला लगानीकर्ता बजार नछिरेसम्म ठूलो उतारचढाव हुने देखिन्न।’
रेमिट्यान्स पनि घटेकोले तरलता अझै सहज हुन सक्ने अवस्था कम रहेको रिजाल बताउँछन्। ‘बैंकले सहज ऋण दिने अवस्था छैन’, उनले भने, ‘डलरको अभाव भएको छ, ठेकेदारले पनि भुक्तानी पाएका छैनन्।’
सरकारी खर्च बढेमा र चुनाव महौल सुरु भएपछि बजार चलायमान हुन सक्ने रिजाल बताउँछन्। ‘अहिले बजारमा बेच्नेभन्दा पनि किन्ने अवसर छ’, उनले भने, ‘बजार २५०० भन्दा तल जाँदैन। वैशाखबाट बजार फर्किन सक्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ। निर्जीवन बीमा समूह मात्रै १.०९ प्रतिशतले उकालो लागेको हो।
यो दिन अन्य समूह सर्वाधिक ४.३६ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ३.१७ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.२५ प्रतिशत, व्यापार समूहमा २.२१ प्रतिशत, वित्त समूहमा २.९ प्रतिशत, जलविद्युत समूहमा २.५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.३८ प्रतिशत, लघुवित्त समूहमा ०.७८ प्रतिशत, जीवन बीमा समूहमा ०.६६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८ प्रतिशत र लगानी समूहमा १.५७ प्रतिशतको गिरावट आएको छ।