धनुष आकारको सहिद गेट निर्माण काम अन्तिम चरणमा

जनकपुर, २२ माघ : जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् । जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन् । मुलुकका अधिकांश स्थानीय तहमा सञ्चालित योजना वर्षांैसम्म अलपत्र रहेको सूचना आइरहेका बेला जनकपुरधाम नगरपालिकाले नगरक्षेत्रको विभिन्न वडामा सञ्चालित योजना समयमै सम्पन्न हुन थालेपछि स्थानीयवासीले विकास भएको अनुभूतिसमेत गर्न थालेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण योजना मानिएको धनुष आकारको सहिद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ । मधेस प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेस सहिद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले बताउनुभयो । ढल्केवर–जनकपुर छ लेन सडकको मुजेलियामा निर्माणाधिन मधेस शहीद गेटमा रङ्ग लगाउने, भगवान् राम र सहिदको प्रतिमा स्थापनाको काम बाहेक सम्पूर्ण कार्य सकिएको उहाँले बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाको करिब रु चार करोडको लागतमा निर्माण भइरहेको सहिद गेट केही दिनभित्रै सम्पन्न हुने वरिष्ठ इञ्जिनीयर यादवको भनाइ छ । धार्मिक पर्यटकीय नगरीका रुपमा परिचिति मधेस प्रदेशको राजधानी जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्किने गरी उपमहानगरपालिकाले धनुष आकारको सहिद गेट निर्माण गर्न लागेको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेस आन्दोलनका सहिदको सम्मानमा नगरको प्रवेशद्वारमा धनुष आकारको सहिद गेट निर्माण गर्ने निर्णय गर्नुभएको थियो ।

त्यही निर्णयका आधारमा २०७७ असार २० गते नगरप्रमुख साहले सो सहिद गेटको शिलान्यास गर्नुभएको थियो । जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २०७७ असार २० गतेबाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुस मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । त्यही सम्झौताअनुसार नै काम सम्पन्न गर्ने योजनाअनुरुप कामलाई तीव्रता दिएको निर्माण कम्पनी गौरी पार्वती स्याब जेभीका साइड इञ्जिनियर अमरकुमार साहले जानकारी दिनुभयो ।

ठेक्का अवधिभन्दा अगाडि नै गेटको निर्माण कार्य सम्पन्न गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाए पनि पनि कोभिड– १९ सङ्क्रमणका कारण केही ढिलाई भएको इन्जिनियर साहले बताउनुभयो । ‘‘गेटको काम करिब करिब सकिएको छ”, उहाँले भन्नुभयो, ‘‘अब गेटको माथिल्लो भागमा १४ फिटको भगवान रामको प्रतिमा र तीनवटा पिलरमाथि शहीदहरुको प्रतिमा राख्न मात्र बाँकी छ ।” त्यो पनि केही दिनभित्रै सम्पन्न गरिने उहाँको भनाइ छ ।

३१ फिट अग्लो द्वारको सबैभन्दा माथि धनुष लिएका भगवान् रामको प्रतिमा रहने छ भने तीनवटा पिलरमा सहिदहरुको प्रतिमा र सिंगो द्वार धनुष आकृतिको बनाइएको छ । सो गेटको दुबै किनारामा राखिने मधेस आन्दोलनमा सम्पूर्ण शहीदहरुको प्रतिमाहरु बनाउने काम तीव्र रुपमा भइरहेको र केही दिनभित्रै प्रतिमा स्थापना गरिसक्ने उहाँले बताउनुभयो । जनकपुरधाम प्रबेश गर्ने मूल बाटोमा निर्माण भईरहेको धनुष आकारको गेटले नगरक्षेत्रको सौन्दर्य बढ्नुका साथै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने नगरप्रमुख साहको विश्वास छ ।

आफू निर्वाचित भएदेखि नै नगरको मुहार फेर्ने अभियानमा लागेकाले यति छोटो अबधिमै जनताले विकासको अनुभूति गर्न थालेको उहाँको भनाइ छ । ‘‘चार वर्षभित्र उपमहानगरपालिकामा धेरै परिवर्तन भएको छ”, नगरप्रमुख साहले भन्नुभयो, ‘‘४०÷५० किलोमीटर सडक बिस्तार, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामिण क्षेत्रका वार्डहरुमा खुला नालामुक्त अभियान चलाएर ८० प्रतिशत क्षेत्रमा अन्डरग्राउण्ड नाला बनाएर पीसीसी ढलान गरेका छौ ।

” जनकपुरधामको मूल प्रवेशद्वार जलेश्वर भिठामोड, जटही, कदम चोक, धुनुषा पथ, कुर्था, कपलेश्वर मौआहा, सीता चौक, भ्रमपुरालगायत स्थानबाट प्रवेश गर्ने सडकमा निर्माण ठेकेदारसँगको समन्वयमा ठूलो गाडी सहज प्रवेश गर्न र निस्किन सकिने १६ मीटर चौडाको सडक बिस्तार गरिएको नगरप्रमुख साहको भनाइ छ । यी सडक बिस्तारको ठेक्का पाएको निर्माण व्यवसायीले करिब ८० प्रतिशत काम सम्पन्न गरिसकेको उपमहानगरपालिकाले जनाएको छ ।

केही बर्षअघि सम्म अतिक्रमित र जीर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला कालोपत्र भएका छन् । जसका कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप समेत फेरिएको छ । अतिक्रमण र जीर्ण रहेका नगरक्षेत्रका अधिकांश मुख्य तथा सहायक सडकहरु यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि यहाँको स्वरुप फेरिएको स्थानीयवासी बताउँछन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको