नेप्से १४.६० अंकले घट्दा, कारोबार रकम भने बढ्यो ।

साताको अन्तिम कारोबार दिन नेप्से सूचक सामान्य अंकले घटेको छ भने कारोबार रकम भने बढेको छ। आज बजार १४.६० अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २८७६.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.२५ अंकले घटेर ५३९.६५ को विन्दुमा खुम्चिएको छ।

मंगलबार साढे ६ अर्ब रुपैयाँ हाराहारीमा शेयर कारोबार भएकोमा बिहीबार साढे ८ अर्ब बढीको शेयर कारोबार भएको छ। यस दिन ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह ०.१९ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा ०.०९ प्रतिशतको बढोत्तरी आएको छ। आज वित्त समूह सर्वाधिक १.३१ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.०८ प्रतिशत, बैंकिङ समूह ०.३४ प्रतिशत, व्यापार समूह ०.७५ प्रतिशत, विकास बैंक समूह १.०६ प्रतिशत, अन्य समूह ०.४१ प्रतिशत, लघुवित्त समूह ०.९८ प्रतिशत, जीवन बीमा समूह १.०६ प्रतिशत, म्युचुअल फन्ड समूह०.५१ प्रतिशत र लगानी समूह ०.५९ प्रतिशत गिरावट आएको छ।

आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। त्यस्तै आरएमडी लघुवित्त र पोखरा फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।

यस्तै अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ८२ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपि पावरको ५२ करोड ५० लाख, शिखर इन्स्योरेन्सको २६ करोड ८० लाख, नेश्नल हाइड्रोपावरको २४ करोड ८१ लाख र जलविद्युत लगानी तथा विकास कम्पनीको २४ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको