नेप्से दोहोरो अंकले उकालो, साढे ६ अर्ब रुपैयाँ बढीको कारोबार

काठमाण्डौ: मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से १९.२९ अंकले बढेर २८९१.३३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ पनि ३.९८ अंकले बढेर ५४२.९० को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ।

आज ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लाे दिन साढे १३ अंकले घटेको नेप्से मंगलबार १९.२९ अंकले बढेर २८९१.३४ विन्दुमा पुगेको छ। जेठ पाँचभित्रै स्थानीय तहको चुनाव गर्न सरकारले तयारी थालेसँगै शेयर बजारमा पनि सुधार देखिएको हो।

आज हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको छ। अधिकाँश हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य बढ्दा उक्त उपसमूहको सूचक ३.२२ प्रतिशतले बढेको छ। कारोबारमा आएका १३ उपसमूहमा ९ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ४ उपसमूहको सूचक नकारात्मक देखिएको छ। विकास बैंक समूह १.६१ प्रतिशतल, बैंकिङ समूहमा ०.२९ प्रतिशत, वित्त समूहमा १.४४ प्रतिशत, लगानी समूहमा ०.११ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७० प्रतिशत र अन्य समूहमा ०.०४ प्रतिशतको बढोत्तरी आएको छ।

आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.१८ प्रतिशतको गिरावट आएको छ। व्यापार समूह ०.१७ प्रतिशतले ओरालो लागेको यो दिन होटेल तथा पर्यटन समूहमा ०.०८ प्रतिशत र जीवन बीमा समूहमा ०.०८ प्रतिशतको गिरावट आएको छ।

आज  नेसनल हाइड्रोपावरको सर्वाधिक ३९ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख रुपैयाँ, अपी पावरको ३५ करोड ७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ३४ करोड रुपैयाँ, एचआईडीसीएलको ३० करोड ४ लाख रुपैयाँ, अरुण काबेली पावरको २३ करोड ९९ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको २० करोड ४ लाख रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्सको १७ करोड ६७ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १२ करोड ७९ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज विन नेपाल लघुवित्त र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।  नेरुडे लघुवित्तको सेयरभाउमा ३ प्रतिशत बढीको गिरावट आएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको