छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले आज अर्थात माघ ११ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद जारी गरेको हो। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले गत पुस २१ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो हकप्रदमा आवेदन दिन योग्य भएका छन्।
यो हकप्रदमा नेपाल धितोपत्र बोर्डको इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद फागुन २ गते बैंकिङ समयसम्म तोकिएको छ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ। हाल २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ।

