नेपालमा पछिल्लो २४ घन्टामा थप ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २३ हजार ४ सय ९ परीक्षणबाट ११ हजार ३ सय ५२ जनामा पुष्टि भएको हो।
जसमा १८ हजार ८७ वटा पिसीआर परीक्षण गर्दा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टिजेन परीक्षण गर्दा १८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।
काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ।
अहिले देशभर ४६ हजार ५१५ जना होम आइसोलेसनमा र एक हजार ४१४ जना संस्थागत आइसोलेसनमा छन्। तीमध्ये १६९ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।