ठूलो प्रयासपछि सकियो सोलु करिडोर प्रसारण लाइन, छिट्टै सञ्चालनमा आउने

अनेकन विवाद, हण्डर र ठक्कर खाएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अन्ततः सकिएको छ । स्थानीयवासीको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या तथा निर्माण व्यवसायीको प्रभावकारी कार्यक्षमताको अभावसमेत बेहोरेको सो प्रसारण लाइनको निर्माण आजै सम्पन्न भएको हो । प्रसारण लाइनको मार्ग परिवर्तन माग गर्दै उदयपुरको कटारी नगरपालिका–४ मरुवामा करिब दुई वर्षदेखिको अवरोध हटेर टावर खडा गर्ने र तार टाँग्ने काम आज सकिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर प्रयास, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दौडाहका कारण आयोजनाको निर्माण सम्पन्न भएको हो । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरको सङ्ख्या ३०२ वटा छ । प्रसारण लाइनका हरेक टावर आयोजना जस्तै हुने गरेको तितो यर्थाथसमेत सो आयोजनाले भोगेको छ । केही समय पहिले कोशी करिडोर २२० केभी क्षमताको प्रसारण लाइनसमेत निर्माण सम्पन्न भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न भएकाले अब एक महिनाभित्रमा चार्ज गरी सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । “प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध भयो, अदालतले अन्तरिम आदेश दिँदा पनि काम रोकियो, प्राधिकरण र आयोजनाका कर्मचारीको निरन्तरतको प्रयास र अविचलित खटाइबाट निर्माण सम्पन्न भएको छ”, घिसिङले भन्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको