ढोलठानामा सोह्रौँ शताब्दीका सामग्री भेटिए

म्याग्दीको बेनी नगरपालिका–९ र ५ को सिमानामा पर्ने तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानामा सोह्रौँ शताब्दीका ऐतिहासिक सामग्री भेटिएका छन् । ढोलठानामा पार्क (उद्यान) निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा जमिनभित्र मल्लकालिन सामग्रीहरु भेटिएका हुन् । ढोलठाना समेटिएको निलबराह सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाले पार्क निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षित रुपमा राखिएको बताउनुभयो ।

तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी र नुन पिस्ने सिलौटो, झिङगटी, घरका पिल्लर, इटाहरु भेटिएका उहाँले जानकारी दिनुभयो । “जमिनको सतह भित्र तत्कालीन मल्ल राजाका पालाका पुरातात्विक महत्वका सामग्री छन्”, उहाँले भन्नुभयो, “भेटिएका सामग्रीलाई सुरक्षित रुपमा राखेका छौ । त्यसको सुरक्षा र संरक्षणका लागि वडा, नगरपालिकालाई अनुरोध गरेका छौ ।” राजबम मल्लको समयमा विसं १६३१ देखि राजाहरु हिउँदका चार महिना बेनी र अरू आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास छ ।

पर्वत राज्य नेपालमा विलय भएको विसं १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीका रुपमा रहेको थियो । नेपाल एकिकरणपछि दरबार भत्किएकाले त्यहाँभित्र रहेका सामग्रीहरु भग्नावशेषमा परिणत भएका छन् । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा ढोलठानामा सार्वजनिक शौचालय, पदमार्ग र बगँैचा निर्माण गरेर पार्क बनाइएको छ । पार्क बनाउन वन डिभिजन कार्यालयले गत आवमा रु पाँच लाख बजेट विनियोजन गरेको थियो । यसैगरी बेनी नगरपालिकाले ढोलठाना पुग्ने सडक स्तरोन्नति, पदमार्ग र प्रतीक्षालय निर्माण गरेको छ । चमचा डिलदेखि ढोलठानासम्म दुई सय मिटर ढुङ्गाको सिँढी चिनेर नयाँ पदमार्ग र प्रतीक्षालय निर्माण गरेको वडाध्यक्ष बेलबहादुर चोखालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आवमा ढोलठाना जोड्ने सडक स्तरोन्नतिमा रु नौ लाख, पदमार्ग निर्माण लागि रु चार लाख र प्रतीक्षालय बनाउन रु दुई लाख बजेट खर्च भएको छ । समुन्द्री सतहदेखि एक हजार सात सय मिटर उचाइमा अवस्थित ढोलठाना पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ । पुरातात्विक सम्पदाको साथै धवलागिरि, अन्नपूर्ण, निलगिरि लगायत दर्जनौ हिमाल, सुर्योदयको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । नागबेली परेर बगेको म्याग्दी नदीको साथै पर्वत र बागलुङका बजार तथा बस्ती अवलोकन गर्न पाउनु ढोलठानाको थप विशेषता हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको