अपी पावरको लाभांश र हकप्रद घोषणा,

अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई लाभांश वितरण र हकप्रद जारी प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो साउन ३२ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १०.५ प्रतिशत बोनस सेयर र बाँकी ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही बैठकले प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको २७५.८९ करोड रुपैयाँको १ः०.३९३६ प्रतिशत अनुपातमा हुन आउने १०८.६ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ।

यी दुई प्रस्ताव स्वीकृतिका लागि कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारणसभा पनि डोकेको छ। आउँदो भदौ २५ गते काठमाण्डौको थापाथलीस्थित ट्रेड टावरमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा आयोजना गरिनेछ।

सोही सभाले सेयरधनीहरुका लागि प्रस्तावित लाभांश र बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको १ः०.३९३६ को अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले हकप्रदबाट प्राप्त हुने रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गरिने प्रस्ताव पनि पारित गर्नेछ।

हकप्रद जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गतेदेखि भदौ २४ गतेसम् बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १७ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको