
हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार इन्स्योरेन्स खुद बीमाशुल्कसँगै खुद नाफा पनि घटेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २५ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.९७ प्रतिशत कम हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १०.३६ प्रतिशत घटेर १५ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ।
गत आर्थिक वर्षमा ३ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस इन्स्योरेन्सको जगेडा कोष समीक्षा अवधिमा २२.७५ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको बीमा कोष १३.८४ प्रतिशत बढेको छ भने महाविपत्ति कोषमा कुनै परिवर्तन भएको छैन। इन्स्योरेन्सले सो अवधिसम्ममा पुनर्बीमा कमिशन बापत ११ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ।
खुद नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको यस्ताे आम्दानी १४ रुपैयाँ १४ पैसा रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ रुपैयाँ ११ पैसा कम हो। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५४.३२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ २२ पैसा रहेको छ।