
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढा मगरले गण्डकी प्रदेशमा कृषि तथा वन पर्यटन (एग्रो र फरेष्ट टुरिज्म) को प्रशस्त सम्भावना रहेकोले सरकारले त्यसको विकासका लागि काम गर्ने बताउनुभएको छ ।
गृह जिल्ला बागलुङ पुगेर मन्त्रीद्वयले कृषि र पर्यटनलाई सगसँगै लैजाने उद्घोष व्यक्त गर्नुभएको थियो । शनिबार गृह जिल्ला आउनुभएका नवनियुक्त मन्त्रीद्वयले आजसम्म विभिन्न भेटघाट, स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भइरहनुभएको छ । उहाँहरुले बागलुङको विकास सँगसँगै कृषि र वनसँग जोडेर पर्यटनको विकास गर्दा दोहोरो फाइदा कमाउनसक्ने सम्भावना रहेको बताउनुभयो । आयता प्रतिस्थापन गर्दै निर्यातमूलक अर्थतन्त्र स्थापनाका लागि आफूहरुले सक्दो सहयोग गर्ने जनाउँदै मन्त्री कँडेलले प्रदेश सरकारको कोरोनालाई निस्तेज पार्ने पहिलो प्राथमिकतामा रहेको र त्यपछि बेरोजगारी घटाउने, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नेलगायतका काममा लाग्ने बताउनुभयो ।
कृषि तथा सहकारीमन्त्री बुढा मगरले सहकारीको कानूनी जटिलाताको छिट्टै अन्त्य गर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको अनुदान कार्यक्रम प्रभावकारी बनाइने जानकारी दिनुभयो ।