बर्दियाको बारबर्दिया नगरपालिकाले आधारभूत तहका लागि ‘बारर्दिया गौरव’ नामक स्थानीय विषयको पाठ्यक्रम सार्वजनिक गरी लागू गरेको छ । आधारभूत तहका विद्यार्थीलाई बारबर्दियाको विविध पक्षमा जानकारी गराउने उद्देश्यले बारबर्दिया गौरव नाम पाठ्यक्रम सार्वजनिक गरेको हो । पाठ्यक्रम आजदेखि नै लागू भएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारू कबिरले जानकारी दिनुभयो ।
बारबर्दिया गौरवको पाठ्यक्रममा बारबर्दियको परिचय, हाम्रो संस्कार संस्कृति, बारबर्दियाका स्थानीय पेशा, व्यवसायी, पर्यटन वा आर्थिक क्रियाकलाप, स्वास्थ्य र खेलकूद, विपद् व्यवस्थापन, वातावरण, हरित विद्यालय, जीवनोपयोगी सीप, मानव मूल्यमा आधारित शिक्षा, स्थानीय व्यक्तित्व र सामाजिक संस्थाका विषयवस्तु समावेश गरिएको छ ।
पुस्तक सार्वजनिक कार्यक्रममा नगरप्रमुख कबिरले यस पाठ्यक्रमबाट नयाँ पुस्ताले आफ्नो रीतिरिवाज, चालचलन, संस्कार तथा संस्कृतिबारे अध्ययन गर्दै भविष्यमा गाउँठाउँको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा पाठ्यक्रम एकदमै महत्वपूर्ण रहेकाले कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।