प्राथमिक बजारमा पाँच महीनापछि आईपीओ विक्रीमा आउने भएको छ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रित्त भएसँगै रोकिएको आईपीओ निष्कासन स्वीकृति असार १३ गतेदेखि अघि बढेको छ । पुस २० गतेपछि बोर्ड अध्यक्ष पद रित्त भएको अवस्थामा पुस १९ गते रिलायन्स स्पिनिङ मिल्सले नै योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।
योग्य संस्थागत लगानीकर्ताहरूमा गत माघ १० गतेदेखि १४ गतेसम्म आईपीओ विक्री गरी माघ १४ गते नै कटअफ मूल्य निर्धारण भएको थियो । कम्पनीले योग्य संस्थागत लगानीकर्तामा ७ लाख ७० हजार ६४० कित्ता आईपीओ विक्री गर्दा कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ निर्धारण भएको थियो । योग्य संस्थागत लगानीकर्तामा विक्री गर्दा निर्धारण भएको कटअफ मूल्यबाट १० प्रतिशत मूल्य घटाएर कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
बोर्डले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँ बराबरको ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न अनुमति प्रदान गरेको हो । सर्वसाधारणमा विक्री हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरले हुन आउने १ लाख १५ हजार ५९६ कित्ता शेयर कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो ।
पहिलो चरणमा जारी भएको शेयर सम्पूर्ण कित्ता विक्री नभएमा दोस्रो चरणमा सार्वजनिक निष्कासन गर्दा थप भएर विक्री गरिनेछ । योग्य वैदेशिक रोगजारीमा रहेका नेपाली नागरिकले साउन १० गतेसम्म यो शेयर खरीदका लागि आवेदन पेस गर्न सक्नेछन् ।
कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरेकाले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले केयर रेटिङ नेपालले केयर एनपी ‘ए’ माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यस रेटिङले समयमै वित्तीय दायित्व वहन गर्न पर्याप्त क्षमता रहेको कम्पनीको संकेत गर्दछ ।
नेपालमा लागू भएको बुक बिल्डिङ विधिबाट दोस्रो कम्पनीको रूपमा यस कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो । यसअघि सर्वोत्तम सिमेन्ट्सले यो विधिबाट आईपीओ निष्कासन गरेको थियो ।
यो विधिबाट आईपीओ निष्कासन गर्ने कम्पनीले सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तामा विक्री गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम ४० प्रतिशत आईपीओ पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा ६० प्रतिशत आईपीओ विक्री गर्न लागेको हो ।
२०५२ भदौ १९ गतेदेखि सञ्चालनमा रहेको यस कम्पनीले विभिन्न किसिमका धागोहरू उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरू भारत, टर्की, भियतनाम, युके लगाएतका विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ ।
कम्पनीको अध्यक्षमा पवन गोल्यान रहेका छन् । यो कम्पनी नाफामै सञ्चालनमा रहेको छ । गत आर्थिक वर्ष ०७९/८० सम्मको वास्तविक वित्तीय विवरण अनुसार ५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने ५३ लाख २१ हजार रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ ५ पैसा छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनीको प्रतिशेयर नेटवर्थ घटेर १७९ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
कम्पनीले ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ विद्युत् महसुलबापतको रकम घटाएर नेटवर्थ गणना गरिएकाले घटेको जानकारी दिएको छ । कम्पनीमा संस्थापकतर्फ ८९ दशमलव ८६० प्रतिशत, योग्य संस्थागत लगानीकर्तामा ४ दशमलव शूून्य ५६ प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपाली र अन्य सर्वसाधारणमा ६ दशमलव शून्य ८४ प्रतिशत शेयर स्वामित्व रहनेछ ।
सम्पूर्ण कित्ता आईपीओ निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँ कायम हुनेछ । आईपीओ विक्रीबाट संकलित रकम कम्पनीले उद्योगको उत्पादन विविधीकरण एवम् क्षमता वृद्धिका लागि उपयोग गर्ने जानकारी दिएको छ ।